२०८२ असार ६ शुक्रबार

राशिफल

पासपोर्ट र भिसाविनै एक व्यक्ति जहाजसम्म पुगेको घटनामा छानबिन गर्न समिति गठन

काठमाण्डौ :   गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायु सेवा निगमको विमानमा पासपोर्ट र भिसाविना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज शुक्रवार एक विज्ञप्ति निकालेर कतारको दोहा उड्न लागेको नेपाल वायु सेवा निगमको विमानमा पासपोर्ट र भिसाविना नै एक व्यक्ति पुगेको घटना सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

यस सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका सम्बन्धमा अध्ययन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।