२०८२ असार २ सोमबार

राशिफल

बलात्कारको पोल खुल्ने बाहानामा बालिकाको हत्या

काठमाडौं :  मोरङको लेटाङ नगरपालिका ८ कि १२ वर्षकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । शुक्रबार पक्राउ परेका गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

बुधबार विद्यालयबाट एक्लै फर्किने क्रममा बालिकाको बलात्कारपछि हत्या भएको थियो । स्कुलबाट घर जाँदै गरेकी बालिकालाई जंगलमा एक्लै देखेपछि चिनजानकै व्यक्ति दीपक पछि लागेको प्रहरीको भनाइ छ ।

गिरीले जंगलको भित्री बाटो जाँदा चाँडै घर पुगिने बताएपछि बालिका उनको पछि लागेकी थिइन् । जंगलको भित्र पुगेपछि गिरीले बालिकालाई शारीरिक सम्पर्कको प्रस्ताव राखेको र बालिकाले नमानेको प्रहरीको भनाइ छ ।

‘बालिकाले प्रस्ताव अस्वीकार गरेपछि गिरीले जबर्जस्ती गरे’ प्रहरी उपरीक्षक जिसीले भने, ‘घटना बुबालाई भन्दिन्छु भन्दै दौडिएपछि पोल खोल्ने डरले गिरीले घाँटी थिचेर बालिकाको हत्या गरेको बुझिएको छ ।’

हत्यापछि गिरीले बालिकाको कपडा भने घर छेउको खोल्सोमा ल्याएर जलाएका प्रहरीको भनाइ छ । गिरीको घर छेउको खरानीको थुप्रोमा फ्रकमा लगाउने खिप, टाँक, जाँते माध्यमिक विद्यालयको पेटी, जुत्ताको सोल र स्क्रिन फुटेको मोबाइल फेला परेको थियो ।

बालिका जातेँ माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् ।

गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले बताएको छ ।