काठमाण्डौ : भोलिको शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो ।
यसपालि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । शिवरात्रिमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।
भीडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष तथा शिवरात्रिको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीका अनुसार भक्तजनका लागि विशेष सुरक्षा योजना बनाइएको छ ।
भोलि पशुपति क्षेत्रमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति खटिने छन् । यस्तै, मेला क्षेत्र र दर्शन मार्गमा सीसीटीभी क्यामरा जडान गरिने छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिने छ । यस्तै, झण्डै ५ हजारको सङ्ख्यामा स्वयम्सेवक परिचालन गर्ने तयारी छ । मन्दिर दर्शनका लागि तीन वटा दर्शन मार्ग व्यवस्था गरिने छ।
गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ । यस्तै, मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एयरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको छ ।
तपाइँको प्रतिक्रीया