२०८२ असार २ सोमबार

राशिफल

क्यानडा पठाइदिन्छु भन्दै नक्कली भिसा र टिकट बनाएर ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाण्डौ : क्यानडा पठाइदिन्छु भनी नक्कली कागजात बनाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका स्थाइ घर भइ काठमाण्डौको गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापरलाई प्रहरीले पक्राउ गरेको हो । कापरले सर्लाहीका अरबिन्दकुमार साहलाई क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

आफू पनि क्यानडा जाने र क्यानडामा आफ्नो मान्छे भएकाले सजिलै क्यानडा पठाउन सक्ने भन्दै प्रलोभनमा पारेर १२ लाख २० हजार रुपैयाँ ठगी गरेको बुझिएको छ ।

पैसा हात लागेपछि कापरले पीडितको मेल आईडीमा भिसा र हवाई टिकट समेत पठाएका थिए । गएको जनवरी १० मा उडान रहेको भनी एअरपोर्ट पुग्दा आफूलाई पठाइएको भिसा र टिकट समेत नक्कली भएको थाहा पाएपछि पीडित साहले आफू ठगिएको भन्दै जाहेरी दिएको थियो ।

त्यसपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गएको १३ गते कापरलाई तिनकुनेबाट पक्राउ गरेको हो ।