काठमाण्डौ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि फागुन १७ गते परेको महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरीपरीको क्षेत्रमा ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवम् दर्शनार्थीको भिडलाई मध्यनजर गरी महाशाखाले सहज आवतजावतको प्रबन्ध मिलाएको हो ।
यस्तै विभिन्न नाका भइ भित्रिने भक्तजनका लागि छुट्टा–छुट्टै ठाउँमा पार्किङको प्रबन्धसमेत मिलाइएको महाशाखाले जनाएको छ । धेरै टाढाबाट भक्तजन आउने हुनाले उनीहरूको सुविधाका लागि निजी तथा अन्य प्रकारका यातायातका साधनलाई निर्वाध आवतजावतको व्यवस्था मिलाउँदै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ ।
नियमित जस्तै चावहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाध रूपमा गाडी चलाउने व्यवस्था मिलाइएको छ । तर भक्तजनको भिड धेरै भइ गाडी सञ्चालनमा समस्या हुन गएमा यो रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एवम् एसएसपी उमेशराज जोशीले बताउनुभयो । चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा गाडी आवागमन निषेध गरी वैकल्पिक मार्ग भइ सञ्चालनको व्यवस्था मिलाइने जनाएको छ ।
विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एवम् भक्तजनका यातायातका साधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, र तिलगङ्गा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासवाहक यातायातका साधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी यातायातका साधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका यातायातका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया