२०८२ असार ७ शनिवार

राशिफल

एमालेले सुटुक्क साथ दिएका कारण एमसीसी अनुमोदन गर्न सफल भएको हो : डा. महत

काठमाण्डौ :  सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गरेको छ ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले यो सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औपचारिक रूपमा सहभागिता नजनाए पनि अनौपचारिक रूपमा सहयोग गरेको बताएको हो । उनले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखी संसदबाट पारित गराउन अनौपचारिक ढङ्गले भए पनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवादसमेत दिएको हो ।

यो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझबुझपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंसा गरेको प्रवक्ता महतको भनाइ थियो । उनले भने, ‘एमसीसी सही ढङ्गले संसदबाट पारित भयो । त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभए पनि उनीहरूको पनि यसमा सहयोग रह्यो । हामीले यसरी बुझेको छौँ । समग्र नेपाली जनताले पनि नेपाली कांग्रेसको सुझबुझपूर्ण निर्णय र नेतृत्वको प्रशंसा गरिराखेका छन् । नेपाली कांग्रेसले सत्ता हुँदा पनि र सत्ताबाहिर रहँदा पनि यथार्थ कुरो राखिराख्यो । त्यसलाई पनि नेपाली जनताले प्रशंसा गरेका छन् ।’

प्रवक्ता महतले एमसीसी सम्झौता पारित गराउन सबै दलको सहयोग रहेसँगै यसबारे जनस्तरमा उठेका भ्रमहरूको पनि निवारण भएको विश्वास व्यक्त  गरे । उनले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढ्न आफ्नो पार्टी लागि रहने प्रतिबद्धता समेत जनाएको छ ।