२०८२ जेठ २२ बुधबार

राशिफल

लोकतान्त्रिक इन्जिनियर समूहले गर्‍यो घोषणापत्र सार्वजनिक (पत्रसहित)

काठमाडौं : नेपाल इन्जिनियर्स एशोसिएसनको आसन्न ३३ औं कार्यकारिणी समिति निर्वाचनका लागि लोकतान्त्रिक इन्जिनियर समूहले घोषणापत्र सार्वजनिक गरेको छ । समूहले ‘लोकतान्त्रिक इन्जिनियर समूहमा मतदाता, इन्जिनियरिङ समस्याको समाधान’ भन्ने नारासहित आफ्नो समूहलाई मतदान गर्न अपिल गरेको हो ।

विगतमा आफ्नो समूहका तर्फबाट नेतृत्वमा पुगेका अग्रजहरुकै कारण संस्थाको गरिमा बढेको र विभिन्न उपलब्धिहरु प्राप्त भएको स्मरण गर्दै आउँदा दिनमा संस्थालाई अझ सशक्त र प्रभावकारी रुपमा अघि बढाउन आफ्नो समूहको जीत अपरिहार्य रहेको लोकतान्त्रिक इन्जिनियर समूहले जनाएको छ ।

संशोधित विधानअनुसार संघीय र प्रादेशिक तहमा निर्वाचन हुन गइरहेको र यस विधान संशोधनको श्रेय तत्कालीन अध्यक्ष ईन्जिनियर डा. हरेराम श्रेष्ठलाई जाने उल्लेख छ ।
लोकतान्त्रिक समूहको घोषणापत्रमा नयाँ नेतृत्वको दुई वर्षे कार्यक्रममा इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालय स्थापनालाई निर्णायक विन्दुमा पुर्याउने, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा आंगिक क्याम्पस स्थापनाका लागि पहल गर्ने, इन्जिनियरिङ शिक्षामा एकरुपता प्रदान गर्ने लगायत रहेका छन्।

यस्तै प्राविधिक भत्ताको प्रयास गर्ने, नेपाली परामर्शदाता तथा विदेशीबीचको पारिश्रमिक विभेद अन्त्य गर्ने, भ्यालुअर्स एशोसिएसनसँग आवद्ध इन्जिनियरले मात्र मूल्यांकन कार्य गर्न पाउने कानुनी व्यवस्था गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएका छन् ।

लोकतान्त्रिक इन्जिनियर समूहबाट अध्यक्षमा दिलिपकुमार झा, उपाध्यक्षमा ऋषि कोइराला, महासचिवमा कृष्णसिंह बस्नेत, उपमहासचिवमा सुधिर गुरागाई, कोषाध्यक्षमा रमिता श्रेष्ठ र सहकोषाध्यक्षमा संजयकुमार महतोले उम्मेदवारी दिएका छन् ।

यस्तै, समूहबाट सदस्य पदका लागि पराग कायस्थ, ढुण्डीराज दाहाल, बज्रमानसिंह थापा, लैला श्रेष्ठ, प्रजन हाडा, लक्ष्मण मण्डल, अन्जनी कुमार दवजु श्रेष्ठ, भरत मण्डल, सुभाष जोशी, नवीन तिवारी, रामशंकर जयसवाल र भोजराज यादवले उम्मेदवारी दर्ता गरेको लोकतान्त्रिक इन्जिनियर समूहले जनाएको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलमा समूहका तर्फबाट रत्नेश्वरलाल कर्ण समूह क, पुनम शाह समूह ख, भगतमान सिंह प्रधान समूह ग, टेकराज बोहरा समूह घ र रोमी मानन्धरले समूह ङ बाट उम्मेदवारी दिएका छन् ।