काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान क्वालिब्रेसन फ्लाइट सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ ।
वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताए ।
आपत्कालीन अवस्थामा विमानस्थल प्रयोग गर्न सकिने महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि उनले दाबी गरेको छ ।
तपाइँको प्रतिक्रीया