२०८२ जेठ २१ मङ्गलबार

राशिफल

युक्रेनको राजधानी किएभमा रुसको आक्रमण तीव्र

काठमाडौं :  रुसले युक्रेनको राजधानी किएभमा आक्रमक प्रहार गर्न लागेको भन्दै युक्रेनी नागरिकलाई सचेत गराएको छ । सयौँ बख्तरबन्द गाडीमा रुसी सेनाहरू किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको केही समयमा रुसको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति निकालेर किएभमा तीव्र आक्रमण गर्न लागेको चेतावनी दिएको बीबीसीले जनाएको छ ।

विज्ञप्तिमा युक्रेनी सुरक्षा संयन्त्रहरूमा उच्चस्तरको आक्रमण सुरु गर्ने भन्दै सुरक्षा केन्द्रहरूको आसपासका सर्वसाधारणलाई त्यहाँबाट हट्न भनेको छ । युक्रेनीहरूलाई रुसविरुद्ध उक्साइरहेको भन्दै रुसले उक्साहटमा नलागी सुरक्षित ठाउँमा जान भनेको छ । बेलायतको रोयल युनाइटेड सर्भिस इन्स्टिच्युडले रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तैनाथ भएको दाबी गरेको छ ।

हिजो सोमवारको वार्ता विफल भएपछि रुसले युक्रेनमा आक्रमण बढाएको छ । खार्किभमा भएको आक्रमणमा एक जना भारतीय विद्यार्थीको पनि ज्यान गएको बीबीसीले जनाएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्दै आफ्नो भूमि र स्वतन्त्रताका लागि अन्तिम अवस्थासम्म लडिरहने बताएको छ ।  उनले रुसले युक्रेनी बालबालिकालाई निसाना बनाएको भन्दै चिन्ता व्यक्त  गरेका छन ।