२०८२ असार ७ शनिवार

राशिफल

रुसी आक्रमणबारे देउवा र विदेश मन्त्री ब्लिन्केनबीच संवाद

काठमाण्डौ :  युक्रेनमा रुसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ ।

विदेश मन्त्री एन्टोनीले ट्वीट मार्फत आफू र नेपालका प्रधानमन्त्री देउवाबीच कुराकानी भएको जानकारी गराएको छ । उनीहरुहरुबीच हिजो बेलुकी कुराकानी भएको हो । एन्टोनीले ट्वीटमा रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति आफूहरुको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुराकानी भएको भन्दै आफूहरु आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्ने उल्लेख छ ।

यसैबीच राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा भोट  हालेको छ । जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणपछि युक्रेनमा भएको मानव अधिकारबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

परिषद सदस्य रहेको रूसका प्रतिनिधिले यस्तो छलफल जरूरी नरहेको बताएपछि प्रस्तावमाथि मतदान भएको हो । मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रस्तावको पक्षमा २९ र विपक्षमा पाँच भोट पर्यो भने १३ देश अनुपस्थित रह्यो । चीनले युक्रेनी प्रस्तावको विपक्षमा मतदान् गर्यो भने भारत मतदानमा सहभागी भएन ।