२०८२ असार ८ आइतबार

राशिफल

बाँकेमा ५ जनाको ज्यान लिने नरभक्षी बाघलाई चितवन ल्याइयो

काठमाडौं :  केही दिन पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । हिजो बिहीवार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो ।

विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकाले त्यो बाघ अहिले चितवन ल्याइएको हो, यसलाई तत्काल जङ्गलमा छाडिँदैन, पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ उनले भने । कसरामा राखिएको बाघलाई दिनमा चारदेखि ६ किलोसम्म राँगाको मासु दिइन्छ ।

खोरमा भएको अवस्थामा केही स्वास्थ्य समस्या परेमा चिकित्सकले यसको स्वास्थ्य परीक्षण गर्छन् । गएको माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट सामुदायिक वनमा घाँस–दाउराका लागि जाँदा नरभक्षी बाघले खाएको थियो ।

त्यही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई त्यही बाघले आक्रमण गरेर मारेको थियो । यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा त्यही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो । त्यस्तै केही समयअघि स्थानीय दुर्गा थारु त्यही बाघको आक्रमणबाट घाइते भएको थियो । उहाँ सामान्य उपचारपछि घर फर्किएको थियो ।

त्यसैगरी फागुन पहिलो हप्तामात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीयवासी धनबहादुर चलाउनेको ज्यान गएको थियो । त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते भएका थिए । पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधवार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको थियो ।