सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा राजस्व तिर्न बाँकी रहेको हेलिकप्टर कम्पनीहरुले निकुञ्जले काटेको पत्रलाई बेवास्ता गरेका छन् ।
लामो समयदेखि करोडौँ रकम तिर्न बाँकी रहेकाले निकुञ्जले गठन गरेको छानबिन समितिले काटेको पत्रको कम्पनीहरुले बेवास्ता गरेको कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिए ।
उनका अनुसार समितिले राजस्व तिर्न ताकेता गरेर पत्र पठाएको हेलिकप्टर कम्पनीहरुमध्ये कैलाश एअर बाहेक अन्यले पत्रको जवाफ दिएका छैनन् । जसका कारण छानबिन समितिले तोकिएको समयमा निकुञ्जलाई प्रतिवेदन पेस गर्न नसकेको निकुञ्जको कार्यालयले जनाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जमा एक करोड भन्दा बढी रकम बेरुजू देखिएपछि कार्यालयले हेलिकप्टर कम्पनीहरुले तिर्न बाँकी रहेको राजस्वको विषयमा ताकेता गरेको हो ।
निकुञ्जले सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर फागुन १३ गते भित्र अध्ययन प्रतिवेदन पेस गर्न समय दिएको थियो ।
तोकिएको समयमा प्रतिवेदन पेस गर्न नसकेपछि फागुन १९ गते सम्मको समय दिएको थियो । तर हेलि कम्पनीहरुले पत्रको बेवास्ता गर्दा १९ गते पनि प्रतिवेदन बुझाउन नसकेको समितिले जनाएको छ ।
तपाइँको प्रतिक्रीया