२०८२ असार ८ आइतबार

राशिफल

प्रसूति कक्षमा बसेको भालु चार दिनपछि वन कार्यालयमा

काठमाण्डौं : ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा बसेको हिमाली कालो भालुलाई चार दिनपछि डिभिजन वन कार्यालयमा सारिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले आज भालुलाई कठ्याएर अस्पतालबाट डिभिजन वन कार्यालय परिसर पु¥याएको हो ।

तीन प्रकारका औषधि मिश्रण गरी भालुलाई बेहोस बनाएर अस्पतालबाट डिभिजन वन कार्यालय लैजान सफल भएको रिजालले बताए । हिमालयन कालो भालु भएको जैविक विविधता संरक्षण केन्द्रका टोलीले दाबी गरेको छ ।

प्राविधिकका अनुसार वयस्क भालु करिब ७० किलोग्राम तौल र पाँच फिट लम्बाइको रहेको छ ।

बेहोस अवस्थामा रहेको भालु पुनः साविककै प्रक्रियामा फर्कन करिब एक घण्टा समय लाग्ने भएको र त्यसपछि उसको व्यवहार तथा प्रस्तुतिका आधारमा थप निर्णय लिने राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्र चितवनबाट आएको टोलीले जनाएको छ ।