२०८२ असार ९ सोमबार

राशिफल

नेपालको संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ – प्रधानमन्त्री

काठमाण्डौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीवन समर्पण गर्नुहुने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गरेका छन् ।

नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गरेका छन् ।

“नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।

संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ । राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ ।

महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ,” उनले उल्लेख गरेका छन् ।