२०८२ असार ९ सोमबार

राशिफल

जब सेन्टर नै ठग सेन्टर- जहाँ लाखौं कमाउँने लोभमा सयौं पुग्छन्, रित्तो हात फर्किन्छन्

काठमाण्डौं : पत्रिकामा आउने ‘वर्गीकृत विज्ञापन’,काठमाडौंका चोकमा बाँड्ने पर्चा र फेसबुकमा आउने विज्ञापन हेरेर ‘जब सेन्टर’ धाउने मानिसहरु ठगिने गरेको पाइएको छ ।

महानगरीय अपराध महाशाखाले फागुन २२ मा त्यसरी ठगेको आरोपमा काठमाडौंका ९ वटा जब सेन्टरका संचालकलाई पक्राउ मुद्दा चलाएको छ ।

काठमाडौं बस्ने शोभा मगर साथीको सम्पर्कबाट चावहिलमा रहेको प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजमा पुगिन् । रौतहट घर भएकी २५ वर्षीया सिर्जना लामिछानेले चलाएको सो जब सेन्टरले शुरुमा ३ सय लिएर उनलाई फारम भर्न भन्यो ।

उनले सात दिन सोही जब सेन्टरको रिसेप्सनमा काम गरिन् । त्यसपछि ‘जागिर चार्ज’ भनेर उनीसँग ४ हजार लिएर प्राश्नाको संचालकले उनलाई अर्को कम्पनीमा पठाए । प्राश्नाका संचालकले ‘१० हजार तलव आउँछ’ भनेका थिए ।

‘तर,सो कम्पनीले सम्पर्क गर्न भनेको अर्को जब सेन्टरमा मलाई मासिक ५ हजार मात्र तलव दिने बताए,’ शोभाले भनिन्, ‘५ हजारमा के जागिर खानु,त्यसपछि म त्यहाँबाट फर्किएँ ।’ जागिर शुल्क र फारम शुल्क बापत उनले ४ हजार ३ सय गुमाइन् ।

कोटेश्वर,चावहिल र बालाजुमा संचालित ९ वटा जागिर खोजिदिने केन्द्रहरुले शोभालाई जसैगरी ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘जागिर दिने नाममा उनीहरुले हैरानी दिएर ठगेको अनुसन्धानबाट थाहा भएको छ’ महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले  भने, ‘जब सेन्टरबाट ठगीएका ३५ जनाले जाहेरी दिएका छन्,पीडितको संख्या थपिँदै छ ।’

कोटेश्वरमा संचालित अनमोल जब मल्टिप्रपोजका संचालक रामबचन कुमार यादव समेत चारवटा जब सेन्टरका संचालकविरुद्ध २१ जनाले उजुरी गरेका छन् ।

कोटेश्वरकै सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिसका संचालक २६ वर्षीय अमर पाण्डेको विरुद्ध पनि १३ जनाले उजुरी दिएका छन् । विभिन्न ठाउँमा सोसाइटी वेलफेयरले ११ वटा शाखा कार्यालय संचालन गरेको खुलेको प्रहरीले जनाएको छ ।

जब सेन्टरहरूले सामाजिक संजालमा ‘घरमै बसेर लाखौं कमाउन सकिन्छ’ भनेर जागिरको खोजीमा बसेकाहरुलाई ‘फिसिङ’ गर्छन् । अनि,त्यहाँ गएपछि अनेक बहानामा शुल्क लिएर जागिर दिँदैनन् ।