२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

 काठमाण्डौ :  आज विश्व मिर्गौला दिवस हो । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । कार्यक्रममा अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिइने छ ।

दिवसका अवसरमा अहिले काठमाण्डौको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निस्किएको छ । पदयात्रा दशरथ रङ्गशालासम्म पुगेर अंग प्रत्यारोपण गरिएका व्यक्ति, अंगदाता, डाक्टर, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने छ । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।

नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गौला रोगका बिरामी थपिँदै गएका डाक्टरले बताएका छन् । मिर्गौला रोग लाग्न नदिन बेलाबेलामा परीक्षण गर्नुपर्ने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठ बताए  । कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौलाको अवस्थाबारे थाहा हुने  भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र उपचारमा जाने प्रवत्ति रहेकाले पनि समस्या बढ्दै गएको डाक्टर श्रेष्ठले बताए ।

नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ । नेपालको कुल जनसङ्ख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै रुपमा मिर्गौला रोग लाग्ने गरेको पाइएको छ ।