काठमाण्डौ : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएको छ ।
कास्कीको लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको लेखनाथ महोत्सवको बिहीवार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले फागुन २४ गतेसम्म १९ दशमलव १५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए ।
‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौँ’उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थालेको छ । मैले त बुधवार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरि पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’
उनले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताए । ‘अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिन्छ । केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका लागि पर्याप्त छैन’उनले भने । प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उनले बताए ।
तपाइँको प्रतिक्रीया