२०८२ जेठ २२ बुधबार

राशिफल

आम आद्मी पार्टीले पञ्जाबमा पायो दुई तिहाइ मत

काठमाडौं :  भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको विकास र सुशासनको कारण आम आद्मी पार्टी आपले पञ्जाबमा दुई तिहाइ मत पाएको छ । बिहीवार सम्पन्न विधान सभाको मतगणना अनुसार पञ्जाबमा आपले दुई तिहाइ सिट जितेको छ ।

१ सय १७ सदस्यीय पञ्जाब विधान सभामा आपले ९२ सिट जितेको छ । दिल्लीमा जस्तै गरिब नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली नि:शुल्क दिने, भ्रष्टाचार अन्त्य गर्ने र पञ्जाबको विकासलाई नयाँ मार्गबाट अघि बढाउने घोषणा गरेका आम आद्मी पार्टीका संयोजक अरविन्द केजरीवालको वाचालाई पञ्जाबका नागरिकले सजिलै विश्वास गरेका छन् । अब पञ्जाबमा कलाकारिता क्षेत्रबाट राजनीतिमा आएका आम आद्मी पार्टीका भगवन्त सिंह मान मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

पञ्जाबमा आम आद्मीका युवा र नयाँ उम्मेदवारले कांग्रेस र अन्य दलका अग्रज र पुराना मानिएका नेताहरुलाई पराजित गरेका छन् । पञ्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नी, पूर्वमुख्यमन्त्री अमरिन्दर सिंह, पूर्व क्रिकेटरसमेत रहेका पञ्जाब कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धु लगायतका नेताहरु आम आद्मीका उम्मेदवारसँग पराजित भएका छन् ।