२०८२ असार १० मङ्गलबार

राशिफल

उपचार नगरी अस्पतालबाट फर्काइए खोटाङका गिरी

काठमाण्डौं :  प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या भएको छ ।

गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको हो । छिमेकी तथा आफन्तको सहयोगमा काठमाण्डौं पु¥याइए पनि आर्थिक समस्या भएपछि गिरीलाई उपचार नगरी २६ फागुनमा घर फर्काइएको छ ।

प्रेसरले ढल्दा गिरीको दाहिने आँखा र टाउको पछाडि चोट लागेको छ । उनको हाल सिंगो शरीर चल्ननसक्ने अवस्थामा पुगेको छ । अचेत अवस्थामा मुढोझैं लडेका छन् । श्वास फेर्दा घ्यार–घ्यार आवाज आउने र मुखबाट फिँज आउने गरेको छ । गिरीले अरुको भारी बोक्ने, ज्याला मजदुरीको काम गर्दै श्रीमती र चार छोरीको लालनपालन गर्दै आएका थिए ।

आर्थिक अवस्था कमजोर भएका कारण गिरीलाई सहयोग उठाएर ट्रमा सेन्टरमा लगिएको थियो । तर ट्रमा सेन्टरले अन्यत्र लैजान रेफर गरेपछि बौद्धस्थित निजी अस्पतालमा लगिएको थियो । केही समय आइसियुमा राखेपनि अधिक खर्च लाग्ने भएपछि परिवारले गिरीलाई घर फर्काएको कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए ।

गाउँपालिकाकै अस्थायी कोभिड अस्पतालमा लगिएपछि उनको मष्तिष्कमा रगत जमेको पत्ता लागेको थियो । कांग्रेस पालिका सभापति गिरीकै पहलमा बिरामीको उपचारका लागि ६८ हजार सहयोग संकलन भएको थियो । बिरामीलाई उपचारमा लगिएको बेला संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिसकिएको छ । थप १०/१२ हजार सहयोग संकलन भएको कांग्रेस पालिका सभापति गिरीले बताए ।

‘बिरामी निको हुँदैन भनेर होईन, उपचार गर्ने पैसा नभएर बिरामीलाई घर फर्काइएको हो,’ वडासदस्य रहेका गिरीले भने, ‘पैसा नहुँदा अकालमा मर्नुपर्ने जुन बिडम्वना छ, त्यसकै एउटा उदाहरण हो पहलमा ।’