काठमाडौं : गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । तर गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी मागेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् ।साथै उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग र सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं, तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला । कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष र विपक्षमा एकोहोरो भइन्छ । नेपाली सोसियल मिडियामा यो गलत नजीर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौं । तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ।’
तपाइँको प्रतिक्रीया