२०८२ जेठ २१ मङ्गलबार

राशिफल

इन्जिनियर्स एसोसिएसनको मतगणनामा धाँधली हुन सक्ने आशंका

काठमाण्डौं : नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना अझै सकिएको छैन ।

मधेस प्रदेशको दुई स्थानमा भएको निर्वाचनको मतपरिणाम आए पनि जनकपुरधाममा मतगणना सुस्त गतिमा भइरहेको छ । मतगणनामा देखिएको सुस्तताप्रति उम्मेदवारहरूले आपत्ति जनाउन थालेका छन् ।

गैरराजनीतिक समूहबाट मधेस प्रदेशको अध्यक्ष पदका उम्मेदवार गौरी पण्डितले निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको आरोप लगाए ।

शुक्रबार राति ११ बजेदेखि सुरु भएको मतगणना अन्तर्गत ६ सय मत गनिसक्दा आफ्नो समूह अधिकांश पदमा अग्रस्थानमा रहेको भन्दै उनले त्यसपछि भने मतगणनामा व्यापक ढिलासुस्ती भइरहेको बताए ।

उनले भने, ‘मतपेटिका खोलिसकेपछि मतगणनालाई तीव्रता दिनुपर्ने हो, तर मतगणना सुस्त देखिएको छ भने उम्मेदवारका प्रतिनिधिलाई जुनसुकै बेला बाहिर निकालिदिने गरेकाले मतगणनामा धाँधली हुन सक्छ ।’ निर्वाचनमा पाँचवटा समूह प्रतिस्पर्धामा छन् ।