२०८२ असार ११ बुधबार

राशिफल

यसवर्ष सरकारले ‘होली नखेल्नु’ भनेको छैन

काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७७ मा फागु पूर्णिमाको अवसरमा भिडभाड गरेर होली खेल्न रोक लगाएको थियो । संक्रमण दर घटेसँगै यसवर्ष सरकारले ‘होली नखेल्नु’ भनेको छैन । प्रहरीले फागु पूर्णिमामा हुने भीडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिनेगरी सुरक्षा योजना तयार गरेको छ ।

काठमाडौंका १९ सार्वजनिक ठाउँमा होली खेल्ने कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंमा आयोजित होलीका कार्यक्रममा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न १ हजार ५ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० दिनेशराज मैनालीले रातोपाटीलाई जानकारी दिए ।

होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको काठमाडौं प्रहरीले प्रहरीले जबर्जस्ती रंग नदल्न र इच्छाविपरीत लोला नहान्न आग्रह गरेको छ । चैत ३ मा पहाडी र ४ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा जबरजस्ती लोला हान्ने कामलाई रोक्न प्रहरीले माइकिङ शुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले होलीमा १५ सय प्रहरी परिचालन गर्ने सुरक्षा योजना बनाएको छ ।

चिनजान नभएका र काम विशेषले हिँडेका मानिसलाई जबरजस्ती लोला हान्ने र रंग दल्ने गरेको भेटिए पक्राउ गरेर मुद्दा चलाउने परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनले भने, ‘अनिच्छुकलाई लोला हान्ने र अवीर दलेको भेटिएमा कानुन बमोजिम नियन्त्रणमा लिन्छौं ।’
होलीको नाममा जबर्जस्ती लोला हान्नेलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउने अधिकारी प्रहरीलाई छ । सो मुद्दामा १ वर्ष कैद र १० हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।