काठमाण्डौ : संघीय संसदको दुवै सदनका चालु हिउँदे अधिवेशन अन्त्य भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको हिउँदे अधिवेशन गएराति १२ बजेदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले निकालेको सूचनामा आजका लागि तोकिएको प्रतिनिधि सभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको उल्लेख छ । मङ्सिर २८ गते शुरु भएको अधिवेशनमा जम्मा ७ घण्टा ५० मिनेट संसदीय काम कारबाही भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको दशौँ अधिवेशन अवधिभर प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्राय: अवरुद्ध रह्यो । एमाले अवरोधका बीच सञ्चालन भएको बैठकबाट अमेरिकी सहयोग एमसीसी पारित हुनुबाहेक अरु उल्लेख्य काम हुन सकेन ।
संसदको विधेयक अधिवेशन एउटै विधेयक पारित नभई सकिएको हो । यस अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता नभएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा अघिल्ला अधिवेशनबाट विभिन्न चरणमा रहेका ४२ विधेयक प्राप्त भएका थिए । अधिवेशन अन्त्यसँगै नागरिकता लगायतका महत्वपूर्ण विधेयक अलपत्र परेका छन् । यस्तै राष्ट्रिय सभामा पनि १५ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् ।
तपाइँको प्रतिक्रीया