२०८२ जेठ २२ बुधबार

राशिफल

नेपाल-यूएई संयुक्त समितिको दोस्रो बैठक सम्पन्न

काठमाण्डौ :  नेपाल यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीमा रहेको यूएईको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे समीक्षा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता यूएईले गरेको छ । साथै यूएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकहरुलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनर्एकीकरण योजनामा नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्ने प्रतिबद्धता पनि यूएईले जनाएको छ । यूएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णत निस्शुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि यूएई सहमत भएको छ ।

पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पूरा गरेर पुनस् श्रम स्वीकृति दिने सरकारको निर्णयबारे यूएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।