२०८२ असार १२ बिहीबार

राशिफल

नेपाल गणित समाजको फेलोशिप वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौं : नेपाल गणित समाजले एनएमएस फेलोशिप–२०२२ वितरण गरेको छ । समाजले एक कार्यक्रमकाबीच गणित विषयमा नेपालका विभिन्न विश्वविध्यालयहरूमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गर्ने विद्यार्थीहरू मध्ये १५ जना विद्यार्थी तथा शोधार्थीहरूलाई फेलोशिप वितरण गरेको हो ।

नेपाल गणित समाजकै पूर्वअध्यक्ष तथा सल्लाहकार, वरिष्ठ गणितज्ञ प्रा. डा. भद्रमान तुलाधरको प्रमुख आतिथ्यतामा सिमोन्स फाउन्डेसनका संस्थापक डा. जेम्स एच सिमोन्सको समुपस्तिथिमा आयोजित उक्त कार्यक्रममा डा. सिमोन्सलाई विशिष्ट सम्मान तथा अभिनन्दन अर्पण गरिएको छ ।

विगत केही वर्षहरूदेखि निक सिमोन्स फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल गणित समाजले विभिन्न कार्यक्रम तथा परियोजनाहरू संचालन गर्दै आइरहेको छ ।

उक्त अवसरमा, गणित स्नातकोत्तर तहमा विभिन्न सेमेष्टरहरूमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूमा क्षितिजमंगल बज्राचार्य, रमुना पाण्डे, रामचन्द्र तिमिल्सिना, र भुवनेश्वर गिरी, गणितमा दर्शनाचार्य गर्दै गरिरहेका विद्यार्थीहरू मध्ये उत्कृस्टता आधारमा छबि ढुंगाना, गुणाखर पोखरेल, हरिप्रपन्न कंडेल, र शंकर परियार साथै विद्यावारिधी फेलोशिप प्राप्त गर्ने शोधार्थीहरूमा बद्रीप्रसाद पंगेनी, बलबहादुर तामाङ, भरतराज वाग्ले, मोहनचन्द्र अधिकारी, पिताम्बर तिवारी र तारा पौडेल रहेका छन् ।
उनीहरूलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि, तथा अन्य विशिष्ट अतिथिहरूले टिका, खादा, नगद, तथा सम्मान पत्र सहित पुरस्कृत तथा सम्मानित गरेका थिए ।
नेपाल गणित समाजका सभापति प्रा. डा. नारायणप्रसाद पहारीको सभापतित्वमा समाजकै सचिव डा. परमेश्वरी कट्टेलको संचालन रहेको उक्त कार्यक्रममा समाजका उपसभापति डा. श्रीराम खडकाले स्वागत तथा कार्यक्रम माथि प्रकाश पारेका हुन् ।

कार्यक्रममा प्रकाश डा. खड्काले निक सिमोन्स फाउन्डेसनको आर्थिक सहयोग तथा संयोजनमा नेपाल गणित समाजले विगतमा गरेका कार्यहरूको चर्चा गर्दै यस्ता खाले सहयोग र समर्थनको निरन्तरताको कामनासहित गणित समाजले अहिले संचालन गरिरहेका वर्कसपहरू, विभिन्न विषयका टक सेरिजहरू तथा निकट भविष्यमा इलाम र पोखरामा गरिन लागेको राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनको तयारीका बारेमा समेत प्रकाश पार्दै गणितको विकाश, विस्तार र प्रवर्धनमा सबैले आआफ्नो क्षेत्रबाट खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गरे ।

निक सिमोन्स फाउन्डेसनसंगको सहकार्यका गणित समाजले विगतका वर्षहरूमा गरेका महत्वपूर्ण गतिविधिहरूमाथि प्रकाश पार्दै समाजका निवर्तमान सभापति प्रा. डा. चेतराज भट्टले आउँदा दिनहरूमा अझै प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने चुनौती थपिएको धारणा व्यक्त गरे ।

फेलोशिपसहित सम्मानित शोधार्थीहरूका तर्फबाट आफ्नो मन्तव्य राख्नुहुँदै विद्यावारिधी तहका शोधार्थी बलबहादुर तामांगले यस्ता पुरस्कार तथा फेलोशिपहरूले अध्ययन– अनुसन्धान कार्यमा थप उर्जा तथा उत्प्रेरणा प्रदान गर्ने धारणा व्यक्त गर्दै खुसी व्यक्त गरे ।

उक्त अवसरमा समाजका सचिव डा. कट्टेलले सिमोन्स फाउन्डेसनका संस्थापक डा. सिमोन्सको व्यक्तित्व तथा कृतित्व माथि प्रकाश पार्दै अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए भने डा. सिमोन्सले आफ्नो गणीतीय अध्ययन, अध्यापन, अनुसन्धानदेखि व्यक्तिगत तथा व्यावसायिक जीवनसंग जोडिएका अनुभव र अनुभूतिहरू समेत सुनाउँदै अन्तरक्रियामा सहभागी विभिन्न गणितज्ञहरूको जिज्ञासाहरू माथि आफ्ना धारणा राखे ।

प्रमुख आमन्त्रित व्यक्तित्वको तर्फबाट मन्तव्य राख्दैै प्रा. डा. तुलाधरले गणित समाजका वर्तमान गतिविधिहरूले आफूलाई थप खुसी प्रदान गरेको धारणा व्यक्त गरे र गणितको महत्वमाथि प्रकाश पारे ।

कार्यक्रमका सभापति प्रा. डा. पहारीले गणित समाजले गर्दै गरेका र निकट भविष्यमा गर्न लागिएका कार्यक्रमहरूको जानकारीसहित समाजका गतिविधिहरूलाई सहयोग र समर्थन गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।