२०८२ असार १२ बिहीबार

राशिफल

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

काठमाडौं :  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि खारेजीको निम्ति सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको समेत मूल्यवृद्धि भइरहेको छ । यो अवस्थामा आम सर्वसाधारण नेपाली जनताको चुल्होसमेत नबल्ने गरी जीवन धान्नै मुस्किल बन्न पुगेको छ ।

हप्ता दिन नबित्दै फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुर्‍याइएको छ । साथै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ ।