काठमाडौं : उपत्यकामा होली मनाउँदा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा पक्राउ पर्नेको संख्या १६६ पुगेको छ । पक्राउ पर्नेमा १५६ पुरुष र १० जना महिला रहेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुर प्रहरीले होली लक्षित सुरक्षा योजना बनाएर लागू गरेका थिए । समाचार तयार गर्दासम्म उपत्यकामा अप्रिय घटना भएको छैन ।
पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुर्व्यवहार गर्नेहरु छन् । पक्राउ परेकाहरुलाई कसुर अनुसार कारवाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले बताए ।
काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भिर घाइते भएकी छिन् ।
सिन्धुपाल्चोकस्थित भोटेचौर घर भएकी १८ वर्षीया विनिता चौलागाईं घाइते भएकी हुन् । मित्रपार्क स्थित दीर्घायु अस्पतालमा उपचार गराइरहेकी विनिता अहिले बोल्न थालेकी छिन्।
होली मनाउँदा लापरवाही गरेर चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लापरवाही गरेर चलाएका र मापसे गरेर चलाएका ९ सय ६ वटा सवारी साधन नियन्त्रणमा लिएर ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजीव शर्माले बताए।
तपाइँको प्रतिक्रीया