२०८२ असार १२ बिहीबार

राशिफल

शिक्षकको परीक्षा : फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

काठमाण्डौं : शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ।

यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभइ फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए।

‘परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौं’, उनले भने, ‘परीक्षार्थीले जुन जिल्लाबाट फारम भरेका छन् सोही जिल्ला नभइ अर्को जिल्लामा गइ परीक्षा दिनुपर्ने छ।’

परीक्षा सञ्चालन गर्नुभन्दा अगाडि आयोगले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम दिनेछ। आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ।

तीनै तहको परीक्षाको लागि करिब २ सय २५ परीक्षा केन्द्र तोकिने भएको छ। उपसचिव आचार्यले २ सय २५ परीक्षार्थी बराबर एक परीक्षा केन्द्र हुने बताए। एउटा परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहने छन्। परीक्षामा २० परीक्षार्थी बराबर एक निरीक्षकको व्यवस्था गरिएको उनले बताए।

उपसचिव आचार्यले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने बताए।

सुरक्षा तथा यातायातको सुविधा हेरेर ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुनेछ। आयोगले परीक्षाका लागि उत्तरपुस्तिका समेत पठाउन थालेको छ। आयोगका अनुसार अहिलेसम्म मध्यपश्चिम, पश्चिमाञ्चल र सुदूरपश्चिममा उत्तरपुस्तिका पठाइसकेको छ।

आयोगले अबको एक हप्ता सबै परीक्षा हुने जिल्लामा उत्तरपुस्तिका पठाइसक्ने छ। कूल १२ हजार ७५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन्। सबभन्दा बढी प्राविमा एक लाख ५८ हजार, निमावीमा ८१ हजार र माविमा ३८ हजार परीक्षार्थी रहेका छन्।

वर्षेनी विज्ञापन गरिने

यसैगरी आयोगले अबदेखि वर्षेनी विज्ञापन गर्ने तयारी गरेको छ।

रिक्त शिक्षकको दरबन्दी मगाएर वर्षेनी विज्ञापन गरी पदपूर्ति गरिने आयोगले जनाएको छ।

आयोगले अहिले परीक्षा सकाएर शिक्षक अनुमतिपत्रको विज्ञापनपछि चैतमा पुनः शिक्षकको विज्ञापन गर्ने तयारी गरेको हो।