काठमाण्डौ : सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षामा फेल भएकाहरूसँग घुस लिएर पास गराएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्रयोगात्मक परीक्षामा फेल भएका तथा उपस्थित नभएकाहरूलाई पास गराएको तथा पास भएकालाई फेल गराएको पाइएकाले विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।
उनीहरूले २०७५ साल मङ्सिर र २०७६ साल साउनदेखि मङ्सिर महिनामा सञ्चालन भएका प्रयोगात्मक परीक्षा मध्येबाट विभिन्न मितिमा सञ्चालन भएका परीक्षामा फेल भएका तथा उपस्थित नभएका एक सय १६ जनालाई पास गराएको पाइएको छ ।
यस्तै पास भएका दुई जनालाई नतिजा अपडेट गर्ने बेलामा फेल गराएर एक सय १८ जनाको नतिजा फेरबदल गराएको पाइएको प्रवक्ता भण्डारीले बताए ।
मुद्दा दायर गरेकाहरूमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख, शाखा अधिकृत गोकुल शर्मा पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौँ तहका भरतराज काफ्ले, अधिकृतस्तर आठौँ तहका भरतमणि बराल रहेका छन् ।
यस्तै अधिकृतस्तर सातौँ तहका प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौँ तहका डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौँ तहका होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल र कम्प्युटर अपरेटर मोहनमणि सुवेदीमाथि पनि मुद्दा दायर भएको छ ।
तपाइँको प्रतिक्रीया