२०८२ असार ११ बुधबार

राशिफल

प्राधिकरणद्धारा वायुसेवा कम्पनीहरुलाई बक्यौता बुझाउन ताकेता

काठमाडौं :  नागरिक उड्डयन प्राधिकरणले बन्द भएका वायुसेवा कम्पनीहरुलाई बक्यौता बुझाउन ताकेता गरेको छ। प्राधिकरणले ३ पटकसम्म सूचना जारी गर्दा पनि बक्यौता नतिर्ने कम्पनीलाई ७ दिनभित्र बक्यौता तिर्न आग्रह गरेको हो। नेकोन एयरले सबैभन्दा बढी ४ करोड ७२ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ।

नेकोन एयरको सञ्चालकमा अध्यक्ष दीपमणि राजभण्डारी, उपाध्यक्ष मुकुन्द भक्त श्रेष्ठ, दिपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान श्रेष्ठ रहेका छन् । दोस्रो सबैभन्दा बढी बक्यौता तिर्न बाँकी कस्मिक एयरको रहेको छ। रविन्द्र प्रसाद प्रधान सञ्चालक रहेको कम्पनीले ३ करोड ४७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ।

त्यस्तै आङ छिरिङ शेर्पाको स्काईलाइन एयरवेजको ७८ लाख रुपैयाँ बक्यौता रहेको छ।

प्रज्वल श्रेष्ठको एयर काष्ठमान्डपले ७३ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ। यता शिवानी एयरका मणिन्द्र लाल रञ्जितकारले पनि ५५ लाख रुपैयाँ बक्यौता बाँकी छ।त्यस्तै गोरखा एयरको २० लाख, माउन्टेन एयरको ६१ लाख बक्यौतार रहेको प्राधिकरणले जनाएको छ।