२०८२ असार ११ बुधबार

राशिफल

मोरङको लेटाङमा झडपका क्रममा १ जना महिला प्रहरीको ज्यान गयो, केही घाइते

काठमाण्डौ :  मोरङको लेटाङ ५ मा हिजो आक्रोशित भिडको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएको छ ।

स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेको विषयमा भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।

उनको कोसी अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।

शुक्रवार होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि हिजो विद्यालयमा यसबारे छलफल भएको थियो ।

छलफल भइरहँदा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो ।

आक्रोशित स्थानीय बासिन्दाले प्रहरीमाथि नै आक्रमण गरेको र आक्रमणमा परेर प्रहरी जवान श्रेष्ठको ज्यान गएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार अरु केही प्रहरी घाइते भएका छन् ।

आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो ।