२०८२ असार ११ बुधबार

राशिफल

आज गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस मनाइँदै

काठमाण्डौ :  नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ

राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएको कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बनेका थिए । २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए।

२०६२:६३ को जनआन्दोलन मार्फत संसद् पुन:स्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधान सभाको निर्वाचनमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाइ गरेका थिए ।

२०६३ साल जेठ ४ गतेको प्रतिनिधि सभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गरेका थिए । कोइरालालाई शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छ । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भइ नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो।