काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुषालले आफ्नो पार्टीले एमालेसँग कुनै पनि किसिमको राजनीतिक एकता तथा चुनावी तालमेल वा सहकार्य नहुने बताएका छन् ।
आज धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव भुषालले सो कुरा बताएका हुन् । उनले एमाले सरकारमा हुँदा केपी शर्मा ओलीले नेपालको संविधानलाई कुल्चिएर संसद विघटन गरी नेपाली जनतालाई अँध्यारोमा धकेलेको, तानाशाही शासन संविधान विपरीत काम गरी इतिहास कायम गरेको हुनाले आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताए ।
नेता भुषालले एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको भन्दै आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे । दुई तिहाइको सरकार हुँदा ओलीको अहंकारको कारणले प्रतिनिधि सभा विघटन गरेर उपलब्धि ध्वस्त पार्न खोजेको महासचिव भुषालले कटाक्ष गरे ।
साथै उनले गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा मात्र नभइ देशैभरि गठबन्धन गरिनु पर्ने धारणा अघि सारेको पनि बताए ।
तपाइँको प्रतिक्रीया