२०८२ असार १० मङ्गलबार

राशिफल

जनप्रतिनिधिले राजीनामा दिए पनि त्यसको कार्यन्वयन नहुने

काठमाडौँ  : जनप्रतिनिधिले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएर मात्रै जनप्रतिनिधिका लागि उम्मेदवारी दिन पाउने आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

आज मंगलवार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिता, २०७८ को दफा ३६ तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले जनप्रतिनिधिहरूले आगामी निर्वाचनमा भाग लिँदा आफू कार्यरत पदबाट राजीनामा दिएर मात्रै भाग लिन पाउने गरी निर्वाचन आचारसंहिता जारी गरेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

आज मंगलवार रिटमाथि प्रारम्भिक सुनुवाइ भएपछि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले चैत १३ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् ।

अन्तरिम आदेश जारी गर्नु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई चैत १३ गते बोलाउने गरी पेसी तोक्न आदेश गरेका छन् । दुवै पक्षलाई बोलाएर छलफल गरेपछि अन्तरिम आदेश जारी गर्नु पर्ने कि नपर्ने भन्ने विषयको निष्कर्ष निकालिने भएको छ ।