२०८२ असार १० मङ्गलबार

राशिफल

एआईजी बढुवामा माग्यो लोक सेवाले जवाफ

काठमाडौं :  लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा समितिको सचिवालयसँग लिखित जवाफ मागेको छ ।

सफारिसमा नपरेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले गत सोमबार उजुरी दिएपछि लोक सेवा आयोगले बढुवा सिफारिस समितिको सचिवालयसँग त्यसको प्रतिक्रिया मागेको हो ।

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा चैत ६ गते उजुरी दिएका थिए ।

बढुवा गर्ने निर्णय भएको सात दिनभित्र उजुरी दिनसकिने व्यवस्था प्रहरी नियमावलीमा छ । उजुरी प्राप्त भएपछि उजुरी सुन्ने म्याद सकिएको भोलिपल्टै बढुवा समितिमा पत्र पठाउनुपर्छ । उक्त पत्र प्राप्त भएको तीन दिनभित्र सम्बन्धित बढुवा समितिले उजुरी सुन्ने समितिमा आवश्यक कागजातसहित लेखी पठाउनुपर्छ । उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र टुंगो लगाइ सक्नुपर्छ ।