२०८२ असार १० मङ्गलबार

राशिफल

त्रिदेशीय भ्रमण मुलुकका लागि फलदायी रह्यो : श्रम मन्त्री श्रेष्ठ

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो नेतृत्वमा भएको त्रिदेशीय भ्रमण मुलुकका लागि फलदायी भएको बताएका छन्। मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले गत फागुन ३० गतेदेखि चैत ८ गतेसम्म संयुक्त अरब इमिरेट्स यूएई, सेसेल्स र कतारको भ्रमण गरेको हो।

भ्रमण सकेर बुधबार स्वदेश आइपुगेका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमण देशका निम्ति निकै फलदायी भएको बताएका हुन्। नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे गन्तव्य मुलुकका मन्त्री र सरकारी अधिकारीहरुसँग भएको द्विपक्षीय छलफल दीर्घकालिन महत्त्वको रहेको उनले बताए।


संयुक्त अरब इमिरेट्स यूएई मा पर्यटन भिसामा पुगी अलपत्र परेका नेपालीहरूको समस्या समाधानका विषयमा मन्त्री श्रेष्ठले त्यहाँका मानव संशाधनमन्त्री अब्दुल रहमान अब्दुललमानन अल अवारसँग छलफल गरेका थिए।

यस क्रममा अलपत्र परेका नेपालीहरूलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरूलाई नेपाल फिर्ता गर्न यूएई सरकारले सहयोगको प्रतिबद्धता जनाएको छ।

संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि मन्त्री श्रेष्ठले छलफल गरेका छन्। मन्त्री अवारले यूएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने र श्रमिक अस्पताल निर्माणमा पनि यूएई सरकारले सहयोग गर्ने बताएका छन्।

गणतन्त्र सिसेल्सको भ्रमणका क्रममा मन्त्री श्रेष्ठसँग रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले द्विपक्षीय भेटवार्ता गरी श्रम सम्झौतालाई छिट्टै टुंगोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ।कतार भ्रमणका क्रममा मन्त्री श्रेष्ठले कतारका श्रममन्त्री डा. अल विन समिख अल मारीसँग भेटवार्ता गरी नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विमर्श गरेका थिए ।