२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रवेशपत्र नआउँदा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित

काठमाडौं :  अनलाइन फारम भरेका सात विद्यार्थीले प्रवेशपत्र नआउँदा परीक्षा दिन नपाउने भएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सबै विद्यार्थी आन्दोलित भएका छन् । बैंकमा पैसा जम्मा गरेर परीक्षाको अनलाइन फारम भर्दा पनि प्रवेशपत्र नआएपछि सात विद्यार्थी हिजो बिहीबारबाट सुरु हुने परीक्षामा सहभागी हुन नपाउने स्थिति बनेको थियो ।

त्यसपछि आन्दोलित बनेका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए भने क्याम्पससमेत तोडफोड गरे । स्थिति असहज बनेपछि क्याम्पसले डिफल्ड एडमिट कार्डको व्यवस्था गरी ती सात विद्यार्थीलाई पनि हिजो बिहीबारको परीक्षामा सहभागी हुन दिएको छ । क्याम्पस प्रमुख ओमप्रकाश ढकालले सातजना विद्यार्थीको समस्या देखिएकाले समस्या समाधान गर्न डिन कार्यालयमा पहल भइरहेको बताए । क्याम्पसमा परीक्षा दिने पाँच सय विद्यार्थी नै आन्दोलनमा उत्रिएपछि क्याम्पस प्रशासनले बिहीबारै आन्दोलित विद्यार्थीहरूसँग लिखित सहमति गरेको छ ।

क्याम्पस नै तहसनहस हुने स्थिति आएपछि डिफल्ड एडमिट कार्डबाट परीक्षा लिने र डिन कार्यालयमा परीक्षालाई मान्यता दिलाउन पहल गर्ने गरी लिखित सम्झौता गरिएको तथा सबै विद्यार्थीलाई बिहीबारको परीक्षामा सहभागी गराइएको प्रमुख ढकालले बताए । ‘एडमिट कार्ड डिन कार्यालयले वितरण गर्ने भएकाले त्यसका लागि डिन शशिधर जोशी र परीक्षा सहायक डिन ज्ञानबहादुर थापालाई विद्यार्थीहरूले तिरेको बैंक भौचरसहित पठाएको ढकालले बताए  ।