२०८२ असार ४ बुधबार

राशिफल

अदालत तोडफोड गरेको आरोपमा १ जना प्रहरी नियन्त्रणमा

काठमाडौं :  कास्की जिल्ला अदालत प्रवेश गरी तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ टुटुंगाका २७ वर्षीय अर्जुन परियार छन् । कास्की प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी आरोपित परियारलाई सार्वजनिक गरेको छ ।

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बुधबार राति करिब १० बजेको हाराहारीमा परियार अदालतभित्र प्रवेश गरेको अनुसन्धानका क्रममा खुलेको बताए । परियारले १ नम्बर र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडी भित्र रहेका टेबुल, इन्डेक्स फाइलहरू, टेबुलको तल रहेको घर्रा खोली कागजातहरू यत्रतत्र छरेको तिवारीले जानकारी दिए ।

यसअघि विभिन्न समयमा गरी आठपटक आपराधिक कार्यमा संलग्न परियार लागुऔषध पाउने उद्देश्यसहित अदालत प्रवेश गरेको खुलेको छ । प्रहरीले बरामद गरेको लागुऔषध फिर्के खोलामा जलाउने गरिन्छ । लागुऔषध प्रयोगकर्तासमेत रहेका परियार जलाउने स्थानमा लागुऔषध पाइने र अदालतभित्र समेत लागुऔषध पाइने सोचका साथ त्यहाँ प्रवेश गरेको तिवारीको भनाइ छ ।

सरकारी, सार्वजनिक वा निजीमा मूलढोका फोरी वा मूलढोकाबाहेक अन्य कुनै बाटो स्थान वा तरिका वा साधनबाट प्रवेश गरी चोरी गरेमा वा चोरी गरिसकेपछि मूलढोका फोरी वा मूलढोकाबाहेक अन्य कुनै बाटो, स्थान वा तरिका वा साधनबाट बाहिर निस्केमा वा निस्कने उद्योग गरेमा चोरी गरेको मानिने भएकाले परियारलाई चोरी उद्योगमा परियारमाथि अनुसन्धान कार्य सुरु गरिएको तिवारीले जानकारी दिए ।