२०८२ असार ८ आइतबार

राशिफल

करिव तीन वर्षपछि राष्ट्रिय च्याम्पियनसिप आयोजना हुँदै

काठमाडौं  : नेपाल तेक्वान्दो संघले करिव तीन वर्षपछि राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । फागुनमा स्थानीय तहदेखि प्रदेशसम्मका छनोट प्रतियोगिता सम्पन्न भएपछि १७औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप चैत १८ र १९ गते ललितपुरमा आयोजना हुने भएको ह ।

२०७६ वैशाखमा आठौं राष्ट्रिय खेलकुदका क्रममा १६औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो ।

तेक्वान्दो संघले आज गरेको पत्रकार सम्मेलनमा दुई वर्षदेखि राष्ट्रिय टोलीको प्रशिक्षण नभएका कारण आसन्न ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टिम तयार गर्न च्यामिपयनसिप आयोजना गरिएको जानकारी दिएको छ ।

आगामी सेप्टेम्बरमा चीनमा एसियाली खेलकुद हुँदैछ भने अर्को वर्ष पाकिस्तानमा १४औं दक्षिण एसियाली खेलकुद हुने तालिका छ ।

सातदोवाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने च्याम्पियनसिपमा सिनियरतर्फ पुरुष र महिलाको ८–८ तौलसमूह तथा जुनियरतर्फ ब्वाइज र गल्र्सतर्फ ५–५ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । २६ स्वर्ण, २६ रजत र ५२ कांस्यका लागि हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीका साथमा ३०० खेलाडीको सहभागिता रहने जनाइएको छ ।