काठमाडौँ : नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ ।
विद्युत् विकास विभागबाट पाँच हजार मेगावाट क्षमता बराबरको बिजुली प्रवाहका लागि अनुमति पाए पनि ‘लोड फ्लो’ अध्ययन गर्दा पहिलो चरणमा तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्न सकिने अध्ययनमा उल्लेख गरिएको छ । उक्त अध्ययनअनुसार सो प्रसारण लाइन उच्च क्षमताको हो ।
आगामी भदौसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेर प्रसारण लाइन निर्माणमा जान सकिने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिरहेको छ ।
आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइन नाम दिइएको सो आयोजनाको नेपालतर्फको क्षमता ४०० केभी डबल सर्किटको हुनेछ ।
यस्तै चीनतर्फ भने ५०० केभी डबल सर्किटको हुनेछ । सो आयोजनामा प्राधिकरणको आयोजना विकास विभागले काम गरिरहे पनि नेपाल र चीनका संयुक्त प्राविधिक समूहको बैठक बस्न नसक्दा विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर०मा बाँकी रहेका केही काम सम्पन्न हुन सकेको छैन ।
पछिल्ला दिनमा कोरोनाका कारण केही जटिलता पैदा भए पनि सहजरुपमा दुई देशबीचको नाका सञ्चालनमा आउन नसक्दा ज्वाइनट क्रसिङ प्वाइन्ट’ का विषयमा टुङ्गो लगाउन सकिएको छैन । दुवै देशका प्राविधिकले स्थलगत रुपमा अध्ययन गरेर सम्पन्न गर्नुपर्ने काम बाँकी रहेकाले संयुक्त रूपमा ‘लोड फ्लो टेस्ट’ र डीपीआरको काम भने हुन सकेको छैन । नेपालतर्फको काम भने अन्तिम चरणमा पुगे पनि संयुक्तरुपमा गर्नुपर्ने काम कोरोनाको असर कम हुँदै गएपछि अगाडि बढ्ने विश्वास लिइएको छ ।
चिनियाँ पक्षले जिलोङ काउन्टीमा सवस्टेशन निर्माण गरिरहेको जानकारी नेपाली पक्षलाई गराएको छ । केरुङसमेत सोही काउन्टीमा पर्छ । नेपालतर्फ यसअघि नै लोडफ्लो टेस्टको काम सकिए पनि संयुक्त लोडफ्लोको काम गर्न बाँकी छ ।
सो काम स्टेट ग्रिड अफ चाइनाले गर्नेछ । नेपालतर्फको अध्ययनका अनुसार अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल र चीनबीच तीन हजार मेगावाट बराबरको बिजुली आयात निर्यात गर्न सकिन्छ । आयोजनामा कूल २०८ टावर रहनेछ । प्रसारण लाइनको नेपालतर्फको खण्ड ७० किलोमिटर बराबर छ । प्रसारण लाइनको लागत रु १० अर्ब बराबर रहने प्रारम्भिक अनुमान छ ।
तपाइँको प्रतिक्रीया