काठमाडौं : आगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।
उनका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान गरेको थियो । यो अवधिमा झण्डै तीन लाख जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेमा सबैभन्दा बढी ६८ हजार ६ जना मधेश प्रदेशमा रहेका छन् भने मधेशपछि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५६ हजार ५६० जनाको आवेदन परेको बताइएको छ ।
साथै प्रदेश नं. १ मा ५० हजार ९४४, बागमतीमा २७ हजार ८३४, उपत्यकामा १३ हजार ९५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २४५ र सुदूरपश्चिममा २९ हजार ७१४ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् ।
आवेदन दिएकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको केसीले बताए ।
तपाइँको प्रतिक्रीया