२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अन्जिता राउतको ४ मुक्तक

                      मुक्तक १.
आँखाभरी आँसु देख्दा हाँसेर जानेहरुलाई
उठाउनुको सट्टा उल्टै लडाएर जानेहरुलाई
आफन्त या पराई के नाम दिँउ सोची रहेछु
छेपारोले जस्तै रङ्ग बदलेर जानेहरुलाई।।

                    मुक्तक २.

गलत कदम चाले जे पनि हुन्छ
मनमा भ्रम पाले जे पनि हुन्छ
रातमा सपनी बिग्रीयो भन्दैमा
अनेक सोच्न थाले जे पनि हुन्छ।।

                  मुक्तक ३.

चिन्तन गर्न बुझ्न, पिर ठाउँमा आफ्ना मान्छे छैनन्
बनाएर हिँड्न उच्च शिर ठाउँमा आफ्ना मान्छे छैनन्
जति पढेपनि यही विषयमा चिन्ता लागी रहन्छ मलाई
खानलाई गतिलो जागिर ठाउँमा आफ्ना मान्छे छैनन्।।

                  मुक्तक ४.

लुकाएर आँसु पीडामा हाँसो घोली राख्नु है प्यारा
आज जस्तै सदा यस्तै मिठो बोली राख्नु है प्यारा
यो मुटुमा मिठो मायाको सौगात लिएर आउँदै छु
खुसीसाथ त्यो मनको दैलो खोली राख्नु है प्यारा।।

–  अन्जिता राउत
नेचा सल्यान -५ सोलुखुम्बु
हाल – भक्तपुर, लोकन्थली