काठमाण्डौ : नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलको लागि मापदण्ड बनाउने तयारी गरेको छ ।
शुक्रवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएपछि यसबारे मापदण्ड बनाउने तयारी भएको हो । २०७४ सालको स्थानीय तह चुनावमा ७५३ स्थानीय तहमध्ये कांग्रेसले २ सय ५३ तहमा जितेको थियो । महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट तथा नगरपालिका र गाउँपालिकामा स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेल गर्ने कांग्रेसको तयारी छ ।
केन्द्रीय समिति बैठकमा नेताहरुले पार्टीभित्र एकता र विश्वासको वातावरण मिलाएर तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आएको छ ।
सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला लगायतकाहरु नेताहरु पनि चुनावी तालमेलको पक्षमा छन् । शेखर कोइराला पक्षका नेताहरुले भने कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने बताउँदै आएका छन् ।
विमलेन्द्र निधि लगायतका केही नेताहरु पनि कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् । तर केन्द्रीय समिति बैठकमा बहुमत सदस्यले तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।
तपाइँको प्रतिक्रीया