काठमाडौं : प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु जाने भएका छन । संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन् ।
एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ । एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले सोमबारको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानीय तहमा एमालेले पकड जमाउन सक्षम भएको सन्देश दिने वताए ।
चुनावी सभामार्फत संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १ वाट पाँच हजार बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने सो पार्टीले जनाएको छ ।
अध्यक्ष ओलीले सोमबार बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भैरहवाको कार्यक्रम सकेर दिउँसो उनी तौलिहवा जानेछन् । साँझ फर्केर बुटवल बस्ने एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया