२०८२ असार ८ आइतबार

राशिफल

अब एक सयमा नै अंग्रेजी विषयको पढाइ हुने

काठमाडौं :  ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ ।

७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने भएको छ । विद्यालय भवन निर्माणका लागि हास्य कलाकार किरण केसीले व्यक्तिगत एक लाख पाँच हजार पाँच सय र सांस्कृतिक कार्यक्रममार्फत २० लाख उपलब्ध गराउने कार्यक्रममार्फत घोषणा गरेका छन् ।

विद्यालय भवन निर्माणका लागि विराजविक्रम सिलवालले २० वर्षका लागि चार रोपनी जग्गा उपलब्ध गराएपछि विद्यालय भवन बन्ने पक्का भएको हो । यसअघि उक्त विद्यालय ललितपुर महानगरपालिका–१७ मा सञ्चालनमा थियो । पन्ध्र वर्षका लागि उपलब्ध गराइएको जमिनको सम्झौता सकिएपछि विद्यालय अर्को वडामा स्थानान्तरण गर्नुपरेको समता शिक्षा निकेतन गुठीका निर्देशक दीपक सञ्जेलले बताए ।

नयाँ निर्माण हुने विद्यालय भवनको आज महालक्ष्मीका नगरप्रमुख रामेश्वर श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वसभापति जीवा लामिछाने, वरिष्ठ कलाकार हरिवंश आचार्य र नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

समता शिक्षा निकेतन गुठीले विगत २१ वर्षदेखि देशका सबै जिल्लामा मासिक १०० मा अङ्ग्रेजी माध्यममा विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ । हाल ७७ जिल्लाका ८० स्थानमा समता शिक्षा निकेतन स्कुल सञ्चालनमा छन् ।

हाल ४० हजार ३२१ विद्यार्थी समताको विद्यालयमा अध्यनरत रहेका छन् । समताको स्याङ्जा र गोर्खामा आफ्नै निजी भवन छ । अन्य जिल्लामा दाताले उपलब्ध गराएको जमिनमा कच्चा टहरा बनाइ समताले विद्यालय सञ्चालन गर्दै आएको छ ।