२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लघुकथा : नग्नविजेता

लेखक- डा. टीकाराम पोखरेल 

युरोपको एक शहरमा विश्व चित्रकला प्रदर्शनी हुँदै थियो । उक्त प्रदर्शनीमा प्रतिस्पर्धीको रुपमा भाग लिन नेपालबाट म छानिएको थिएँ ।

प्रतिस्पर्धी भएपछि विजेता हुने आकांक्षा राख्नु स्वभाविकै हो । म प्रतिस्पर्धामा खरो उत्रने निधोमा पुगेँ ।

चित्रकलाको विषयवस्तु छान्ने स्वतन्त्रता आफैँलाई थियो । मैले मेरो देशको वस्तुस्थितिको चित्र कोर्ने निधो गरेँ ।

मेरो देशको वर्तमान चित्रमा उतारेँ । हत्या, बलात्कार, भ्रष्टाचार, कुशासन, गरिबी, अशिक्षा, अन्धविश्वास, निराशा, नकारात्मक टिप्पणी जस्ता कुराको चित्र बन्यो ।

हुन त मेरो देशमा गौरवशाली इतिहास, पुर्खाको बहादुरी, संस्कृति, पुरातत्व, ऐतिहासिक स्थल, प्राकृतिक सौन्दर्यता जस्ता गर्व गर्न लायक कुरा पनि थिए । तर संयोगान्तले भन्दा वियोगान्तले बढी मान्छेको मन छुन्छ भन्ने सिद्धान्त मैले पढेको थिएँ । एरिष्टोटलको विरेचन सिद्धान्तदेखि बालकृष्ण समको दुखान्त नाट्य चेतनासम्मले मेरो दिमागमा जरा गाडिसेकेका थिए ।

मान्छे आफूलाई दुःख परेको मन पराउँदैन । तर अरुको दुःख हेरेर आनन्दित हुन्छ । मेरो चित्रमा प्रतिविम्बित मेरो देशमा विद्यमान हत्या, बलात्कार, भ्रष्टचार, कुशासन, गरिबी, अशिक्षा, अन्धविश्वास, निराशा, नकारात्मक टिप्पणी जस्ता कुरा हेरेर कला पारखीहरु सन्तुष्ट भए । मेरो चित्रकलाले दर्शकबाट प्रशंसा पायो ।

जुरीको आँखामा पनि मेरै चित्रकला प¥यो । म प्रथम भएँ । पुरस्कार पाएँ । विश्वविजेता हुन सकेकोमा म दङ्ग थिएँ ।

चित्रकला प्रदर्शनीस्थलमै भएको पुरस्कार वितरण समारोहमा अधिकांश मानिसहरु मलाई बधाइ दिइरहेका थिए । तर त्यही समारोहको कुनातर्फ रहेको ६/७ जनाको एउटा समूह भने मलाई खिल्ली उडाउँदै हाँसिरहेको थियो ।

मलाई तिनीहरु किन खिल्ली उडाउँदै छन् भनेर मैले आफूलाई नियालेर हेरेँ । आफ्नो देशको हत्या, बलात्कार, भ्रस्टाचार, कुशासन, गरिबी, अशिक्षा, अन्धविश्वास, निराशा, नकारात्मक टिप्पणी अरुको सामु प्रदर्शन गर्दा म नाङ्गिएँछु । कला प्रदर्शनीमा पाएको पुरस्कार र प्रमाणपत्रले मेरो नग्नता छोप्न सकिरहेको थिएन ।