काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुविधा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुविधा नरहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रत्येक संकट मोचनको भूमिका खेल्नुपर्ने अवस्थामा रहदै आएपनि त्यहीअनुसार सबैले माओवादीलाई स्वीकार्ने अवस्था नहुनु विचित्रका रुपमा व्याख्या गरे । ‘तर त्यहीअनुसार सबैले स्वीकार गर्न नसक्ने बडो विचित्रको अवस्थामा छ । शान्ति सम्झौता, निर्वाचन हुँदै अहिले एमसीसीसम्म आउँदा पनि देशलाई राजनीतिक अप्ठ्यारोबाट बचाउनेमा माओवादी केन्द्र नै अग्रसर छ’, प्रचण्डको भनाइ छ ।
उनले माओवादीले खेलेको यही भूमिकाका कारण जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको दावी गरे । उनले नेपालको अर्थतन्त्रमा देखिएको संकटबारे पनि चर्चा गरे । ‘नेपालमा केही आफ्नै प्रकृतिका समस्या छन्,अन्तराष्ट्रिय कारणले पैदा भएका समस्या, राष्ट्रिय कारणले पैदा भएका समस्या, नीतिको कमजोरीका कारणले पैदा भएका समस्या या विविध कारणले आएका समस्याको समिक्षा गर्यो भने सम्हाल्न सकिने ठाउँमै छ’, प्रचण्डको भनाइ छ । उनले नेपालको आर्थिक अवस्था सम्हाल्न नसकिने अवस्थामा नपुगेको दावी पनि गरे ।
तपाइँको प्रतिक्रीया