रमन वन/काठमाण्डौं : हरेक वर्ष चैत कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा मनाइने एक प्रसिद्ध जात्राको रुपमा लिइन्छ, घोडे जात्रालाई । घोडे जात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ भने सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।
पहिले काठमाडौँ बासीमा मात्र सीमित यो जात्राले अहिले राष्ट्रिय महत्व पाउन थालेको छ । यद्यपी, काठमाडौँ उपत्यकाको तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा परापूर्वकालदेखि नै घोडे जात्रा मनाउने परम्परा रहेको छ ।
किन मनाइन्छ घोडेजात्रा ?
घोडे जात्राको इतिहासका बारेमा ठ्याक्कै यसै हो भनेर किटान गर्न सक्ने अवस्था भने छैन् । किंवदन्ती अनुसार कुनै बेला टुँडिखेलमा टुँडि नाम गरेको राक्षस बस्ने गर्दथ्यो । राक्षस काठमाडौँबासीका लागि त्रासको विषय थियो । जब चैत्र कृष्ण पक्षको औंशीको दिन टुँडि राक्षसको टुँडिखेलमै मृत्यु भएको खवर काठमाडौँबासीले पाए ।
यस खवरले काठमाडौँबासीलाई ठूलो राहत दियो र सबै जनता खुसी भए । राक्षसले काठमाडौँबासी जनतामध्ये हरेक दिनजसो एकजना मानिसलाई माथ्र्यो र आफ्नो भोजन बनाउँथ्यो ।
राक्षस मरेको खवरले काठमाडौँबासी खुसी भएर टुँडिखेलमा जम्मा भए र ठूलै उत्सव मनाए । उत्सव मनाउने क्रममा उनीहरु घोडामाथि चढेर टुँडि राक्षसको शरीरमाथि नाचेको किंवदन्ती पाइन्छ ।
त्यसपछि हरेक वर्ष टुँडिखेलमा काठमाडौँका तत्कालिन राजाले टुँडि राक्षसको दुष्ट आत्मा टुँडिखेलको जमिन भन्दामाथि उठ्न नसकोस् भनेर त्यहाँ घोडा दौडाउने प्रचलन बसाले ।
यही प्रचलन हरेक वर्षचल्दै आएपछि काठमाडौँको टुँडिखेलमा चैत कृष्ण औँसीका दिन घोडे जात्रा मनाउने परम्परा बस्यो । प्रारम्भमा काठमाडौँबासिले मात्रै मनाउने यो घोडे जात्रा विस्तारै ललितपुर र भक्तपुरमा समेत मनाउन थालियो ।
घोडे जात्राको दिन जति तीव्र गतिमा घोडा कुदाइयो, त्यति नै बढी मात्रामा टुँडि राक्षसको आत्मा जमिन मुनि धसिने विश्वास काठमाडौँबासीमा रहिआएको छ । काठमाडौँ उपत्यकाको ललितपुरको बालकुमारीमा पनि आजैका दिन घोडे जात्रा मनाइन्छ । त्यस जात्रामा नेवारी पुरुष र घोडा दुवैले जाँड खाने प्रचलन छ ।
त्यसपछि घोडालाई उत्तेजित बनाइ तेज गतिमा दौडाइन्छ । यसकारण यो पर्वलाई दैत्य माथिको विजय भएको खुसीयालीका रुपमा मनाइदै आएको छ । साथै यस जात्राले देशमा शुमंगल ल्याउने विश्वास पनि गरिन्छ ।
बालबालिकालाई भूत, प्रेत, पिशाचलगायत नकारात्मक तत्वले दुःख नदियोस् भनेर पनि घोडेजात्रा मनाउनका पछाडि विविध कारणमध्ये एउटा भएको किंवदन्ती छ । चैत कृष्ण चतुर्दशीको दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ। परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत, पिशाच नामका ‘कु’ तत्वले धेरै नै दुःख दिने गर्थे ।
यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन यी तत्वलाई केही मनपर्ने खानेकुरा दिएर चित्त बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको मानिन्छ ।
चैतकृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई चित्त बुझाइने र त्यस समयमा नजाने भूतपिचाशको आत्मालाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको किंवदन्ती बुढापाकाहरु सुनाउँछन ।
विशेषगरी बालबालिकालाई किचकन्नी, मूर्कट्टा आदि नामका नकारात्मक तत्वले दुःख नदिऊन् भनी यो पर्वमा सहरभर घोडा कुदाउने गरिन्छ । पहिले काठमाडौँका अन्य स्थानमा समेत घोडा कुदाउने गरिन्थ्यो। तर यहाँ शहर विस्तार हुँदै घनाबस्ती भएपछि उक्त परम्परा हटेको हो ।
नेपाली सेनाको घोडचढी कला प्रदर्शन
घोडे जात्राका दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा समेत मनाइन्छ । त्यसैले घोडेजात्राका अवसरमा टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ । घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइने यस पर्वमा देशको अति उच्च पदमा आसिन राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस लगायत साधारण नागरिकसम्म सहभागि भएर मनोरञ्जन लिन्छन्।
घोडे जात्राको अवसरमा सेनाले गर्ने घोडचढी प्रदर्शन मनोरञ्जनका लागि मात्रै हो । सो अवसरमा नेपाली सेनाले खेलका विभिन्न कलाकौशल समेत प्रस्तुत गर्ने गर्दछन्। यस अवसरमा आयोजना गरिने विशेष समारोहमा अश्वकलाका विविध रोचक कार्यक्रमहरुका साथै सेनाका जवानहरुले ट्रिकराईड, टांगन र चार्जर घोडा दौड, साईकल रेस, शो जम्प, ड्रिल राईड, गु्रप टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स पिक, भल्टिङ्ग, हर्ष ह्याण्डलिङ्ग, सिक्स बार, रेन फ्रि जम्प, म्युजिकल राइड, डग शो, हंगेरियन पोष्ट, क्रसकन्ट्रीजम्प र फायर जम्प प्रदर्शन गर्छन् ।
सैनिक मञ्च टुँडिखेलमा सेनाले प्रदर्शन गर्ने अश्वकला, अश्वदौड प्रतियोगिताको रूपमा हो । तर, धार्मिक र सांस्कृतिक मान्यताअनुसार टुँडिखेलमा बासस्थान भएका पिशाच प्रेतात्मा, भूतहरूलाई घोडाको टापले कुल्चिएर जमिनबाट माथि आउन नदिनु नै यसको मुख्य परम्परा रहेको बताइन्छ ।
सांस्कृतिक मान्यता
घोडेजात्रा घोडाप्रतिको सम्मान त हुँदै हो तर यो घोडा दौड नभएर जात्रा भएकाले धार्मिक र सांस्कृतिक मान्यतासँग पनि यसको सम्बन्ध छ । पिशाच चतुर्दशीको भोलिपल्ट औंसी तिथिमा मनाइने यो पर्व भएकाले यसले तान्त्रिक मान्यतालाई आत्मसात गरेको पाइन्छ । किनकि, घोडा दौडाएर पिशाच, दुष्टात्मा भगाउने कार्य र विश्वासलाई मल्लकालको बढ्दो तान्त्रिक विधाको प्रभावसँग जोडेर हेर्दा पनि पुष्टि हुन आउँछ । हाम्रो देशको संस्कृतिको एक प्रमुख अंगका रूपमा नेपालका विभिन्न चाडपर्वलाई पनि लिइएका छन्।
ती चाडपर्वलाई सम्पूर्ण नेपालीले खुला हृदयले मिलोमतो गरी भाग लिने गर्छन्। यो चाड चैत्र कृष्ण औंसीका दिनमा पर्छ। यस वर्षको यही चैत २९ गते आइतबार परेको छ। यसलाई पिशाच चतुर्दशी पनि भन्छन्। यस दिन टुँडिखेलमा घोडा दगुराउने जात्राका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि हुन्छ। घोडेजात्रा नेवार समुदायको एउटा ठूलो चाड हो।
यस दिन भगवान् शिवजीको धुमधामसँग पूजाआजा गरिन्छ। अझ बढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन्। यस दिन काठमाडौंको टुँडिखेल नजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजा–अर्चना पनि गर्ने परम्परा छ।
यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाई दिई सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ । यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचुर्य हुन्छ। भनिन्छ– घोडे जात्रापछि लसुन छिपिएको हुन्छ, खानलायक हुँदैन भन्ने किम्वदन्ती पनि आजसम्म त्यत्तिकै चरितार्थ रहेको पाइन्छ ।
हिन्दु संस्कृतिमा आफ्ना पूर्वजप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरका रूपमा घोडेजात्रालाई लिन सकिन्छ।
छिटोछरितो, बलवान् जनावरका रूपमा घोडाको महत्त्व पौराणिककालदेखि नै सर्वस्वीकार्य भएकाले नै मानिसले घोडालाई तालिम दिई कज्याएर आफूअनुकूल यातायात साधन र मनोरञ्जनका लागि उपयोग गर्दै आएका छन्।
साथै, वैदिककालमा घोडाको महत्त्वपूर्ण भूमिका र मान्यता रहेको देखिन्छ। उसबेला चक्रवर्ती राजाले आफ्नो प्रतिष्ठा, राज्यको सीमा सुरक्षा स्थिर राख्न, राज्यबाट कर उठाउन श्यामकर्ण घोडालाई विशेष रूपले सजाई विशेष अधिकार दिई दिग्विजय गर्न छाडेका र सो कार्य सम्पन्न भएपछि उनले अश्वमेघ यज्ञ सम्पन्न गरेका पुराणमा उल्लेख पाइन्छ।
साथै, सामाजिक प्रतिष्ठान र मान्यतामा नेपालको कर्णाली अञ्चलको मुगु जिल्लाको ’घोडा भेडा’ प्रथामा स्थानीय जनतामा भैपरी आउने मुद्दामामिला, झैझगडा, अंशबन्डा आदिमा स्थानीय भद्रभलाद्मी मध्यस्थकर्ताको सहयोगमा कुनै पनि समस्याको समाधान गरिदिने मध्यस्थकर्तालाई भेडाको मासु खुवाई घर फर्कंदा घोडामा चढाएर पठाउने नियमको उल्लेख पाइन्छ।
घोडेजात्राअघि आजको जस्तो रूपमा हुँदैनथ्यो। तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो र राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो। दर्शन गर्न जाँदा राजा घोडामा जाने गर्थे। राजाको पछिपछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो। राजाको दर्शनयात्राको शोभा हेर्न टुँडिखेलमा जनता भेला हुने गर्थे। यसरी राजाको घोडेयात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप हुन गएको अनुमान गर्न सकिन्छ। यस जात्राको पहिलाको रूप पाटनको बालकुमारीको चौरमा हिजो आजसम्म पनि देख्न पाइन्छ।
आज आएर विभिन्न मनोरञ्जन थपिँदै गए र यो घोडेजात्राको तयारी धेरै दिनअघिदेखि गरिन थालेको हो। यस जात्राको मुख्य आकर्षण पक्ष भन्नाले घोडा, मोटर, मोटरसाइकल, साइकल, रेसजस्ता खेलहरूको प्रतियोगिता हो। यसका अलावा विभिन्न खेल, तमासा, लडाइँका प्रदर्शन, सर्कस पनि देखाइन्छ र फौजीले हेलिकप्टरबाट विभिन्न किसिमका रोचक तथा घोचक कार्यक्रम लोकप्रिय हुन थालेको छ। यसले घोडेजात्रा हेर्नेको संख्यामा तीव्र प्रतिस्पर्धा हुन थालेको छ।
अहिले आएर साधारण जनताले मोटरसाइकल, साइकल, दौडमा भाग लिन पाउँछन्। त्यस्तैगरी महिलाले पनि विभिन्न खेलमा भाग लिन थालेका छन्। टुँडिखेल मञ्चमा राष्ट्रपतिलगायत, प्रधानमन्त्री अन्य मन्त्री र विदेशका प्रतिनिधिलगायत उच्च पदस्थ सरकारी कर्मचारीको पनि यस अवसरमा सरिक भएको पाइन्छ।
घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्त्व पनि रहेको छ। यस किसिमको प्रचलनको सुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन्। यो जात्रा खासगरी काठमाडौं उपत्यकाको तीन सहरमा भव्यरूपमा मनाइन्छ। यो जात्रामा विशेषगरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ। यो चाड तीन दिनको भए पनि अन्तिम दिन चैत शुक्ल परेवाको दिन मातृका देवीका खटहरू सहरमा परिक्रमा गराई छवटा गल्लीबाट ल्याई असन चोकमा सातवटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोकभेट भएको पनि भनिन्छ भन्ने किम्वदन्ती छ।
हाम्रो समाजमा विभिन्न चाडपर्वका आआफ्नै किसिमको महत्त्व बोकेर आएका छन्। त्यसमध्ये घोडेजात्रा पनि एक महत्त्वपूर्ण पर्व हो। यसको धार्मिकभन्दा सामाजिक महत्त्व बढी भएको पाइन्छ। यसले नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ। यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ।
अतः नेवारी समाजमा यसलाई जोड दिएको प्रतीत हुन्छ। त्यसैले हिन्दु संस्कृतिमा आफ्ना पूर्वजप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरका रूपमा यस जात्रालाई लिन सकिन्छ। यो घोडेजात्रा पर्व विशेषता कृषक वर्गले आनन्द गर्ने चाड हो। घोडेजात्रा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भनी व्यंग्य गरिएको पाइन्छ। यसर्थ प्रत्येक वर्ष घोडेजात्रा यसरी नै सम्पन्न हुन्छ।
तपाइँको प्रतिक्रीया