काठमाडौं : रुसले आजदेखि आफ्नै मुद्रा रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने भएको छ । यसअघि धम्की मात्रै दिँदै आएको रुसले एउटा आदेश पारित गर्दै रुससँग मित्रवत् व्यवहार नदेखाउने देशहरुले ग्यास खरिदको लागि अनिवार्य रुपमा रुबलमै भुक्तानी दिनुपर्ने नियम लागू गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको आदेश अनुसार ग्यास खरिद गर्न चाहनेहरुले आजदेखि रुसी बैंकमा खाता खोलेर रुबल जम्मा गर्नुपर्नेछ । रुसको यो नियमपछि ग्यास खरिद गर्ने युरोपेली देशहरुलाई निकै ठूलो असर पर्नेछ भने युद्धका कारण कमजोर बन्दै गएको रुसी मुद्रालाई राहत हुनेछ । यसले रुसी मुद्रा बलियो बन्ने तथा रुससँग डलर र युरोको सञ्चिती बढ्ने अनुमान छ ।
रुसी निर्णयको प्रतिक्रिया दिँदै जर्मनीले यसलाई ‘ब्ल्याकमेल’ अर्थात जालसाझी गरेको आरोप लगाएको छ । यस्तै फ्रान्सले रुसी ग्यास कटौती गर्दै जाने बताएको छ भने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले रुबलमा ग्यास खरिद गर्नु सजिलो विषय नभएको भन्दै विकल्प खोजिने बताउनुभएको खबरमा उल्लेख छ ।
तपाइँको प्रतिक्रीया