काठमाडौं : जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार विभागीय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा छन् ।
दुवै टोलीका लागि यो उपाधि महत्वपूर्ण छ । जारी सिजनमा एपीएफले दोस्रो उपाधि उचाल्न खोज्दा एनआरटी पहिलो उपाधि आफ्नो नाममा लेखाउने रणनीतिमा छ ।
यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाईब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधि जितेको थियो ।
आहा राराबाहेक एपिएफको यो चौथो प्रतियोगिता हो । झापा र बागमतीमा भएको प्रतियोगितामा पराजित हुँदै एपीएफ जीतपुरसिमरा गोल्डकपसम्म आइपुगेको हो । एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो । सिमरा आउनु अघि एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग लिएको थियो ।
तपाइँको प्रतिक्रीया